मधेश प्रदेश : सरकारी गाडी चुनावी प्रचारमा प्रयोग गरेको भन्दै गाडी नियन्त्रणमा
टुडेपाटी-
बारा, कार्तिक २१ गते ।
सरकारी गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्दै बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराले स्थानीय प्रशासनको आदेशमा विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो ।
निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए ।
तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।
Sponsored
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचार प्रसारमा प्रयोग भइरहेको गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताए ।
विश्वकर्माले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।