आज आस्थाको महापर्व छठ मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, कातिक १३ गते ।
मिथिलाञ्चल लगायत तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठपर्व मनाइँदै छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।
अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
Sponsored