महोत्तरीको पररियामा सदभाव र्याली निकाल्ने तयारीमा राजनीतिक दल
टुडेपाटी–
महोत्तरी, कार्तिक ११ गते ।
महोत्तरीको भंगहा नगरपालिकाको पररियामा हिंसा भड्किएपछि राजनीतिक दलले सदभाव र्याली निकाल्ने भएको छ ।
दुई समूदायबीच भएको धार्मिक हिंसालाई मिलाउन राजनीतिक दलले सो क्षेत्रमा सदभाव र्याली निकाल्ने तयारी गरेको हो ।
लोहारपट्टी नगरपालिकाका मेयर एवम् नेपाली कांग्रेसका नेता शैलेन्द्र यादवले सो क्षेत्रमा भंगहा र लोहापट्टीका नगरपालिका राजनीतिक दलका नेताहरु मिलेर सदभाव र्याली निकालिने तयारी भएको जनाएका छन् ।
बिहिबार भएको झडप पश्चात सो क्षेत्रमा कफ्र्य लगाइएको थियो भने शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त विषयमा सदभाव र्याली निकाल्ने र विवाद समाधान गर्न राजनीतिक दलले पहल गर्ने छलफल भएको थियो ।
‘चाडवाडको बेला यो विवादलाई जसरी पनि साम्य पार्ने पक्षमा हामी छौं, छलफल समेत सकारात्मक भएको हो, सम्भवतः आजै हामीले सदभाव र्याली निकाल्छौ’ उनले भने ‘र्यालीपछि यो विवादको ठोस सामाधान निकाली जारी कर्फ्यु पनि आजै खोल्न प्रशासनसँग समेत आग्रह गर्छौ ।’
Sponsored
हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहिबार दिउँसोदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।