धनुषा क्षेत्र -१ः कसको पल्ला भारी ?
टुडेपाटी-
जनकपुरधाम, असोज २७ गते ।
धनुषा क्षेत्र नं. १ मा पुरानै अनुहारबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रबाट मातृका प्रसाद यादव उम्मेदवार छन् । विपक्षी गठबन्धन घटक जनता समाजवादी पार्टी (जसपा)बाट दीपक कार्की उम्मेदवारी परेको छ । जनमत पार्टीबाट किशोरी साह कमल उम्मेदवार छन् । मातृका यसै क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । किशोरी पनि सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचत निवर्तमान प्रदेशसभा सांसद हुन् । जसपाको भागमा संघ र प्रदेश दुबै परेपछि उनी एमाले परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
दीपक यस अघि २०७४ को चुनावमा पनि प्रतिनिधि सभामा प्रतिस्पर्धाी थिए । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीको मधेशी गठबन्धनबाट उम्मेदवार रहेका दीपकलाई ९ हजार १२२ फराकिलो मतन्तरले पराजित गर्दै बाम गठबन्धनका उम्मेदवार मातृका विजयी भएका थिए । माओवादी केन्द्रबाट मातृकाले २६हजार ४१८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका दीपकले १७ हजार २९६ मत प्राप्त गरेका थिए । मातृका २०६४ को पहिलो संविधान सभामा विजयी भएका थिए ।
यस पटक रोचक त के छ भने यी दुबै पुराना प्रतिस्पर्धीको टसल फेरि फरक गठबन्धनबाट परेको छ । उतिबेला बाम गठबन्धन हुँदा मातृकालाई एमालेको साथ थियो भने अहिले एमालेको साथ दीपकलाई छ । उति बेला तत्कालीन राजपा बर्तमानको लोसपाको साथ दीपकलाई थियो भने अहिले मातृकालाई छ । एमाले र जसपाको गठबन्धन छ भने लोसपा सत्ता गठबन्धनसंग छ ।
यति बेला यस क्षेत्रमा काँग्रेस र लोसपाको साथले मातृका बलिया उम्मेदवारको रुपमा देखिन्छन् । गत स्थानीय निर्वाचमा दलहरुका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतको आधारमा यो भन्न सकिन्छ ।
गत स्थानीय चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. १ मा पर्ने वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतको हिसाब गर्ने हो भने नेपाली काँग्रेस सबैभन्दा बलियो दल देखिन्छ । एमाले दोश्रो, तेश्रो नेकपा माओवादी केन्द्र, चौथोमा जसपा र क्रमशः अन्य दलहरु छन् । काँग्रेसले १७ हजार ५५०, एमालेले १५ हजार ८१७, माओवादी केन्द्र १२ हजार २९२, जसपा ९ हजार १० मत पाएको छ । यस्तै लोसपाले ६ हजार ६२४, राप्रपाले ४ हजार ९३०, जनमत पार्टीले ३ हजार ३२०, एकीकृत समाजवादी २ हजार ९३७ र स्वतन्त्रले ३ हजार ३२४ पाएका छन् ।
पाँच दलीय गठबन्धन अन्तर्गतका दलका वडाध्यक्षले पाएको मत जोड्ने हो भने ३९ हजार ४०३ मत पुग्छ । एमाले र जसपा गठबन्धनको मत मात्र २४ हजार पुग्छ । त्यसमा पनि एमालेबाट विद्रोह गरेका किशोरी साह कमलले विद्रोह गरेका दिन ५ हजार भन्दा बढी एमाले नेताकार्यकर्ता आफूसंग रहेको दावी गरेका थिए ।
Sponsored
काँग्रेससंग ९ वटा वडामा जसपाको गठबन्धन भएको थियो । जससमा चारवटा वडा जसपाको भागमा थियो । तर काँग्रेसले अन्तरघात गरेकोले सो वडाहरुमा जसपाको मत नै काउण्ट नभएको दिपकको भनाइ छ ।
यो क्षेत्रमा सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका पूर्णरुपमा पर्छ । यस्तै हंसपुर नगरपालिकाको पाँच वडा २, ३, ५, ७ र ८, मिथिला बिहारी नगरपालिकाको चारवटा वडा १,३,४,५, क्षिरेश्वरनाथ नगरपालिकाको २ वटा ८, ९ र मिथिला नगरपालिकाको एकवडटा वडा नं. ४ चार गरी जम्मा ४५ वटा वडा यस क्षेत्रमा पर्दछ ।
निवर्तमान प्रदेश सांसद र यश क्षेत्रका प्रभावशाली मानिएका एमाले नेता जनमत पार्टीबाट उम्मेदवार भएपछि उनले एमालेको धेरै मत तान्ने उकतिपयको बुझाइ छ ।
आफ्नो व्यक्तित्व, समाजमा लामोसमयदेखि गरेको काम, सांसद हुँदा सदनमा देखाएको भूमिकाले जनता आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको किशोरीको तर्क छ । ‘अब जनता विगत जस्तो झुकिँदैन । म एमालेमा छँदा एमालेको मतदाता भन्दा पनि धेरै मत मलाई परेको थियो । मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो’ उनले भने ‘तपाईहरुलाई थाहा हुनुपर्ने हो म प्रदेशसभामा छँदा अरु सांसद जस्तो घर भाडा लिइन । एमालेबाट प्रतिनिधित्व गर्दा जहिले पनि सदनमा पार्टीभन्दा माथि जनताको मुद्दा, विकासको लागि बोले । चुनावमा गरेको प्रतिवद्धता अनुसार तलबभत्ता गरिब विपन्नको लागि खर्च गरे । संसदीय विकास कोषको सही रुपमा सदुपयोग गरे ।यी कामहरु र अन्य उम्मेदवार भन्दा फरक मेरो व्यक्तित्वले नै मलाई जनता अत्यधिक मतले जिताउनेमा म विश्वस्त छु ।’
दीपकले आफू विगतम यस क्षेत्रमा चुनाव लडेको निकटतम बलियो प्रतिस्पर्धी, एमालेको समेत आफूलाई साथ र लामो समयदेखि यस क्षेत्रको लागि निस्वार्थ काम गरेकाले जनता यसपटक जिताउने उनी विश्वस्त छन् । ‘यो जिल्ला र क्षेत्रमा म लामो समय काम गरेको छु । अवश्य मेरो कामको मूल्यांकन गरेर जनताले मलाई जिताउँछ भन्ने मलाई विश्वास छ’ उनले भने ।
पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पक्कड, पाँच वर्षमा गरेको विकासले मातृका यादव जित्ने उनका सहयोगी माओवादी केन्द्रका धनुषा जिल्ला अध्यक्ष दिपक यादवको तर्क छ । हेवी वेट नेता जस्तो प्रतिस्पर्धी नभएकाले गठबन्धनको सहयोगले जित निकाल्नेमा मातृका ढुक्क रहेको उनका निकटस्थहरु बताउँछन् । तर माओवादीको जित यहाँका ठूला दल काँग्रेसको भूमिका र मतमा निर्भर छ । अन्तरघात भए उनलाई चुनाव जित्न चुनौती हुने कतिपयको बुझाइ छ । तर दुबै प्रदेशसभा क्षेत्रम काँग्रेसको उम्मेदवार रहेकाले काँग्रेसले अन्तरघात नगर्ने माओवादी केन्द्रका नेता दीपक बताउँछन् ।
पाँच वर्षमा मातृकाले यो क्षेत्रमा चाहे जस्तो काम नगरेको भन्दै विपक्षीले त्यसलाई ठूलो अस्त्रको रुपमा प्रयोग गरिरहेका छन् । दिपक यादव र किशोरी पनि जनतमा भिजेका प्रभावशाली नेताको रुपमा चिनिन्छन् । जनमत पार्टीबाट किशोरी उम्मेदवार भएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना हुने विश्लेषण भइरहेको छ ।
DEEPAK KARKI