एमालेका मधेश प्रदेश कमिटी सदस्य डा.संजिव यादवसहित नेताकार्यकर्ता काँग्रेस प्रवेश
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य डा. संजिव यादवसहित दुई दर्जन नेताकार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । धनुषाको लक्ष्मीनियामा बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमालेका युवा नेता डा. यादव प्रवेश गरेका हुन् ।
उनीसहित एमालेका दुई दर्जन बढी र जसपाका पनि केही नेता कार्यकर्तालाई काँग्रेसले पार्टीमा स्वागत गरेको छ । काँग्रेसबाट धनुषा क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका सहमहामन्त्री महेन्द्र यादव, काँग्रेसका धनुषा जिल्ला अध्यक्ष योगेन्द्र पजियार र ४ (क)का उम्मेदवार शेषनारायण यादवले नव प्रवेशीहरुलाई फूलमाला, अविर लगाएर स्वागत गरेका छन् ।
युवा नेता संजिव यादवले एमालेमा व्यक्तिवादी तानासाही हावी भएकाले आफू काँग्रेस प्रवेश गरेको बताए । उनले पार्टीमा खट्ने नेताकार्यकर्ताको मूल्यांकन नहुने गरेको, मधेशको नागरिकता समस्याप्रति एमाले बाधक बनेको लगायतको कारण एमालेप्रति वितृष्णा बढेको उनको भनाई छ ।