मधेशको प्रदेशसभा बैठक ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड चल्यो
टुडेपाटी–
जनकपुरधाम, असोज २१ गते । ।
मधेश प्रदेशको प्रदेशसभामा पाँच वर्षमा २२८ वटा बैठक बसेको छ । प्रदेशसभाको निर्वाचन पश्चात ०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेशसभाको ०७९ असार ३२ सम्म बस्दा ९ वटा अधिवेशनमा २२८ वटा बैठक बसेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
शुक्रवार प्रदेशसभाको हालसम्मको गतिविधि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभामुख यादवले प्रदेशसभाको कार्यकाल सफल रहेको दावी गरे । उनले यस अवधिमा प्रदेशसभामा ६१ विधेयक दर्ता हुँदा ५५ वटा विधेयक प्रदेशप्रमुखबाट प्रमाणिकरण भएर ऐन बनिसकेको बताए ।
समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकको छलफल गरि प्रतिवेदन पेश गर्ने अवस्थामा रहेतापनि नवौँ अधिवेशन अन्त्य भइसकेकाले सदनमा पेश हुन नसकेको उनले बताए ।
सभामुख यादवले प्रदेशसभाको यस अवधिमा ६ वटा नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल भएको जानकारी दिए । उनले यस पाँच वर्षको मुख्य उपलब्धि प्रदेशको नामाकरण र राजधानी रहेको बताए ।
प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको हो ।
Sponsored