समानुपातिक बन्दसूची तर्फ २९ जनाले फिर्ता लिए नाम
टुडेपाटी–
काठमाडौं, असोज १७ गते ।
मंसिर ४ मा हुने निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश गरिएका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार निर्वाचन आयोगमा निवेदन दिएर उनीहरुले नाम फिर्ता लिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । सूचीबाट २९ जनाले नाम फिर्ता लिएका आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए ।
नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी कांग्रेसका नौजनाले नाम फिर्ता लिएका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका तर्फबाट पाँच, नेकपा माओवादी केन्द्रका तर्फबाट तीनजनाले बन्दसूचीबाट आफ्नो फिर्ता लिएका छन् । जसपाका प्रतिनिधिसभातर्फका तीनजनाले नाम फिर्ता लिएका हुन् । माओवादी केन्द्रका प्रतिनिधिसभातर्फका एकजनाले नाम फिर्ता लिएको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ एकसहित तीनजनाले नाम फिर्ता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश नम्बर–१ मा एक, पुनर्जागरण पार्टीका तर्फबाट वाग्मती प्रदेशमा पाँच र राष्ट्रिय माओवादी पार्टीका तर्फबाट वाग्मतीमा तीनजनाले नाम फिर्ता लिएका छन् ।
Sponsored
सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए ।