राष्ट्रपतिको कदमविरुद्ध जसपाको आन्दोलन घोषणा
टुडेपाटी–
जनकपुरधाम, असोज ७ गते ।
जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
जसपा मधेश प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।
बिहीबार जसपाका भर्चुअल बैठक मार्फत जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए ।
असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने उनले बताए ।
असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।
Sponsored
प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको निष्कर्ष छ ।