TodayPati

धनुषा क्षेत्र नं. ३ : निधि ब्याक, जुली चुनावी तयारीमा, राजेन्द्र महतो दोधारमै

टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।

मधेशमा चुनाव भन्ने बितिकै धनुषा प्रतिनिधि सभा क्षेत्र नं. ३ अन्य क्षेत्र भन्दा बढी चर्चाको शिखरमा रहन्छ । यसको कारण एतिहासिक धार्मिक नगरी जनकपुरधाम र हेवीवेट नेताबीचको प्रतिस्पर्धा । जनकपुरधाम मधेश प्रदेशको स्थायी राजधानी भइसकेपछि झनै यो क्षेत्रको महत्व झनै बढेको छ ।

यसपटक धनुषा क्षेत्र नं. ३ मा बिगतमा चुनावी प्रतिस्पर्धामा रहदै आएका काँग्रेस नेता बिमलेन्द्र निधि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट ब्याक भएका छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट राजेन्द्र महतो काँग्रेस नेता निधिलाई पराजित गर्दै निर्वाचित भएका थिए । राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट लडेका महतो निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित हात पारेका थिए । महतो ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए ।

Sponsored

यसपटक पनि प्रत्यक्ष तर्फको चुनावमा जित्न असहज होलाकी ठानेर उनी समानुपातिक तर्फ आफ्नो नाम सिफारिस गराएर सांसद बन्न आफूलाई सुरक्षित गरेका छन् । काँग्रेस पूर्व उपसभापति समेत रहेका निधि २०७४ को चुनावमा सभापति शेर बहादुर देउवाको खेमामा थिए । यधपी मधेश आन्दोलनको रापतापको प्रभाव र आन्तरिक रुपमा चलेको निधि हराउ अभियानको कारण बहु संख्यक एमाले राजेन्द्र महतोलाई मत हालेका थिए । तर पार्टीको महाधिवेशनमा सभापति पदका लागि शेर बहादुर देउवासंग टक्कर लिएपछि पराजित भए । त्यस यता उनी कमजोर भएका छन् । गत स्थानीय तहको निर्वाचन गठबन्धन तर्फ मेयरका उम्मेदवार जसपाका लालकिशोर साहलाई सहयोग नगरी अन्तरघात गरेको आरोप छ । काँग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका मनोज साहलाई आन्तरिक भूमिका खेलेका थिए । आगामी निर्वाचनमा संस्थापन पक्ष र गठबन्धनमा अन्तर्घात हुन सक्ने त्रासले निधि प्रत्यक्ष चुनावबाट ब्याक भएर समानुपातिकमा गएको उनी निकट एक नेताले बताए ।

 नेता निधिको ठाउँमा काँग्रेसबाट पहिलो पटक नयाँ अनुहार आउने अवसरको सृजना भएको छ । निधि व्याक भएपछि यो क्षेत्रको लागि काँग्रेसले प्रमेश्वर महासेठ र गणेश तिवारीको नाम सिफारिस गरेको छ । प्रवल सम्भावित उम्मेदवार भने प्रमेश्वर महासेठ हुने चर्चा छ । २०३६ सालदेखि नेपाल विद्यार्थी संगठनदेखि काँग्रेसको राजनीतिमा आफू सक्रिय रहेको महासेठ बताउँछन् । उनी चार्टर अकाउन्टेन्ट (सीए) हुन् । आर्थिकरुपले सबल भएकाले उनलाई यो अवसर पार्टीले प्रदान गर्न लागेको व्यापक चर्चा छ । महासेठ प्रवल सम्भावित उम्मेदवार भएको काँग्रेस क्षेत्र नं. ३ का सभापति कोमलकान्त झा बताउँछन् । 

हुन त पाँच दलीय गठबन्धनमा अहिले निर्वाचन क्षेत्र टुंगिन बाँकी छ । यधपी पार्टीको आधार क्षेत्र रहेकाले यो क्षेत्र छाड्न काँग्रेसले सकभर नछाड्ने नेता झाको भनाइ छ । लोसपा गठबन्धनमा आएको खण्डमा राजेन्द्र महतोलाई यो क्षेत्र छाड्न सकिने पनि काँग्रेस नेता झा बताउँछन् । करिब दुई महिना अघि काँग्रेस नेता निधिले लोसपा नेता महतोसंग भेट गरेका थिए । त्यसपछि उनले पार्टीको बैठकमै गठबन्धनमा लोसपालाई ल्याउने प्रस्ताव समेत राखेका थिए । महतोको सचिवालयका अनुसार भेटघाटको क्रममा निधिले महतोलाई आफू समानुपातिकमा जाने संकेत गर्दै अगामी निर्वाचनमा सहकार्य गरि अघि बढ्ने कुराकानी गरेका थिए । महतो र निधिको भेट र गठबन्धनमा लोसपालाई ल्याउने प्रस्तावलाई महत्वका साथ हेरिएको थियो ।

  यस क्षेत्रमा आगामी निर्वाचनका लागि नेकपा एमालेबाट जुली कुमारी महतो उम्मेदवार हुने निश्चित जस्तै छ । गत भदौ २७ गते जनकपुरमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको सम्बोधनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले जुलीलाई यो क्षेत्रको लागि ग्रिन सिगनल दिएका थिए । उनको नाम एमालेले एकल सिफारिस गरेको छ । नेतृ जुली चुनावको तयारीमा जुटिसकेकी छन् । आफू एमालेबाट उम्मेदवार निश्चित रहेको उनले बताइन् । 

यो क्षत्रका लागि लोसपाबाट बरिष्ठ नेता राजेन्द्र महतोको नाम एकल सिफारिस भएको छ । जुली प्रत्यक्षमा आउने पक्कापक्की भएपछि लोसपा नेता महतोको ब्याक हुने सम्भावना बढेको छ । भर्खर सकिएको मधेश आन्दोलनको सेन्टिमेन्ट र निधि हराउको अभियानमा २०७४ को निर्वाचनमा जित हात पारेका नेता महतोलाई यसपटक ठूलो चुनौती छ । किन भने यसपटक नत मधेश आन्दोलको सेन्टिमेन्ट छ, न निधि प्रतिस्पर्धी, नत जनपुरधाम उपमहानगरको नेतृत्व ।

Sponsored

  एमाले नेतृ जुली उम्मेदवार बनेको खण्डमा जातीय फ्याक्टरको भोट विभाजित वा बाँडिएर महतो पराजय हुन सक्ने राजनीतिकवृतमा चर्चा छ । नेतृ जुलीले राजेन्द्र महतो यो क्षेत्रमा लड्ने सम्भावना नरहेको बताइन् । 

‘उहाँ मसंग प्रतिस्पर्धा गर्नु हुन्न भन्ने मलाई विश्वास छ । तर पनि उहाँको इच्छ’ उनले भनिन् ।
नेता महतो नेतृ जुली ब्याक भएको खण्डमा यसै क्षेत्र वा नभए आफ्नै गृह जिल्ला सर्लाही क्षेत्र नं. २ मा जाने तयारीमा रहेको उनी निकट एक नेताले बताए। ‘जुली यो क्षेत्रमा लडेको खण्डमा महतो लड्नु हुन्न । उहाँ सर्लाही २ जाने सम्भावना प्रवल छ । ३।४ पटक सर्लाही पुगेर उहाँ सर्वेक्षण गरिसक्नु भयो । यहाँ भन्दा त्यहाँ उहाँलाई चुनाव जित्न सहज हुन सक्छ’ ती नेताले भने ।
महतोको विभिन्न क्षेत्रबाट सिफारिस भएकाले सर्वेक्षण गर्नु स्वभाविक रहेको लोसपाका नेता उपेन्द्र महतोको तर्क छ । तर महतो धनुषा क्षेत्र नं. ३ मा काँग्रेस नेता निधि सामानुपातिकमा गएर महतोको लागि मार्ग प्रसस्त गरेकाले सोही क्षेत्रबाट चुनाव लड्ने उनको दावी छ । महतोका स्वकीय सचिव विन्दकिशोर साहले निधि ब्याक भएपनि जुली लडेपनि महतोको जनस्तरमा बलियो पक्कड रहेकाले यसै क्षेत्रबाट लड्दो दावी गरे ।

यदि महतो धनुषा क्षेत्र नं. ३ बाट ब्याक भए लोसपाले बिकल्पको रुपमा प्रदेश सांसद प्रमेश्वर साहलाई अघि बढाउने तयारी गरेको उच्च श्रोतले जनाएको छ । साह लोसपा संससदीय दलका प्रमुख सचेतक हुन् । उनी गत २०७४ को निर्वाचनमा तत्कालिन राजपा नेपालबाट धनुषा क्षेत्र नं. ३ ख बाट चुनाव जितेका थिए । उनी पनि यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ । ‘प्रमेश्वर साहको नाम प्रदेश तर्फ सिफारिस भएको छ । यदि महतो सर्लाही २ मा जाने निश्चित भयो उहाँको ठाउँमा प्रमेश्वर साहलाई अघि बढाउने पार्टीको तयारी छ’ लोसपाका महतो निकट एक नेताले भने ।

  महतो ब्याक भए खण्डमा यो क्षेत्रमा एमाले नेतृ जुली, काँग्रेसका प्रमेश्वर साह र लोसपाका प्रमेश्वर साहबीच प्रतिस्पर्धा हुने सम्भावना छ । अर्को तर्फ लोसपा काँग्रेस र एमालेसंग पनि तालमेलको लागि परामर्श जारी नै राखेको एक नेताले बताए । यदि लोसपा पाँचदलीय गठबन्धनमा आए धनुषा क्षेत्र नं. ३ महतोलाई छोड्न सकिने सम्भवना रहेको काँग्रेस क्षेत्रीय सभापति झा बताउँछन् ।

यसअघि २०७० को दोश्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ३ मा काँग्रेस नेता निधि र एमाले नेतृ जुलीको चुनावी प्रतिस्पर्धा भएको थियो । निधि ब्याक, पछिल्लो पटक बढेको एमालेको प्रभाव र सगठन विस्तारले आफिूलाई यसपटक चुनाव जित्न सहज हुने जुलीको आकलन छ ।
जनआधार बलियो भएकाले काँग्रेसले आफ्नो दाल जित्ने दावी गर्दै छ ।

यस्तो छ धनुषा क्षेत्र नं. ३ को अंकगणित !

धनुषा क्षेत्र नं. ३ मा जनकपुरधाम उपमहानगरपालिकाको १७ सहित जम्मा ३८ वटा वडा पर्छन् । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडा मध्ये १७ वटा, नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै पाँचवटा वडा र विदेह नगरपालिकाको एउटा वडा पर्छ ।
३८ मध्ये आधा संख्या अर्थात १९ वटा वडा एकलै काँग्रेसले जितेको छ । दोस्रो स्थानमा एमालेले ११, जसपाले ४, लोसपाले ३ र नेकपा एकीकृत समाजवादीले १ वटा वडा जितेको छ ।

स्थानीय तह र क्षेत्रीय चुनावमा धेरै फरक छ । स्थानीय तहमा क्षेत्र सानो हुन्छ । पार्टी भन्दा माथि उठेर कतिपयले नजिक वा राम्रो उम्मेदवारलाई मतदान गरेको पनि गत स्थानीय तहको चुनावमा देखियो । त्यसैले स्थानीय तहको चुनाव अनुसार क्षेत्रीय चुनावमा मत आउँछन् भन्ने छैन । यधपी गत स्थानीय चुनावमा धनुषा क्षेत्र नं. ३ मा पर्ने ३८ वटै वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको अंकगणित केलाउने हो भने प्रथम स्थानमा काँग्रेस नै देखिन्छ । उसको २२ हजार ४२९ मत छ ।

दोश्रोमा एमाको १६ हजार १६ मत छ । जसपा र लोसपाको उस्ता उस्तै अलि कमबढी पाएको देखिन्छ । जसपाले ८ हजार २२४ र लोसपाले १ हजार १६३ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत मात्र पाएको निर्वाचन आयोको तथ्यांकमा छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *