गोली दागेर सर्लाहीका एक व्यवसायीको हत्या
टुडेपाटी–
काठमाडौं, असोज ४ गते ।
काठमाडौंमा गोली दागेर सर्लाही घर भएका एक व्यवसायीको हत्या भएको छ ।
काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका लाल मोहम्मद अन्सारीको सोमबार साँझ गोली दागेर हत्या भएको हो ।
पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालकअन्सारीलाई साँझ मोटरसाइकलमा आएका दुई जनाले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते उनलाई सुरुमा शंखरापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । बा ६ च ५१५२ नम्बरको गाडीमा आएका अन्सारीलाई गोठाटारको जम्बुडाँडास्थित उनको फ्याक्ट्री अगाडि गोली प्रहार गरिएको थियो ।
उक्त गाडी अन्सारीको गार्मेन्टमा सामान अर्डर गर्न आएका रामप्रसाद गौतमको भएको खुलेको छ । गाडीमा सँगै रहेका गौतमका अनुसार ४ राउन्ड गोली प्रहार भएकामा अन्सारीलाई ३ गोली लागेको थियो । गोली प्रहार गरेपछि त्यही पेस्तोलले अन्सारीको टाउकामा हानेर उनीहरू पल्सर बाइकमा भागेको गौतमले बताएका छन् । गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छैन ।
Sponsored
केही वर्षअघिदेखि परिवारसँगै काठमाडौंमा बस्दै आएका अन्सारीको विगत भने आपराधिक पृष्ठभूमिको देखिन्छ । ५७ वर्षीय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका थिए । जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ मा जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत उपनामले चिनिएका उनी व्यक्ति हत्या र जाली नोटको कारोबारमा कैद सजाय भुक्तान गरी २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका थिए ।
उनको हत्या अन्तर्राष्ट्रिय गिरोहले गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनापछि प्रहरीको विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत विशिष्टीकृत अपराधको अनुसन्धान गर्ने युनिटबाट प्रहरी अनुसन्धान गरिरहेका छन् ।