TodayPati

नगरसभा नहुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आर्थिक कारोबार ठप्प

टुडेपाटी-
जनकपुरधाम, असोज १ गते ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजेट अहिले सम्म पास हुन नसक्दा नेपालीहरुको महान चाड दसैंमा कर्मचारीहरुले तलब समेत नपाउने अवस्था सृजना भएको छ ।

विवादको कारण नगरसभा नहुँदा आर्थिक कारोबार गर्न बाटो बन्द भएको छ ।

Sponsored

मेयर सुखदेव यादवले नगरपालिकामा पत्रकार सम्मेलनमा गरी असार १० गते समय मै नगरपरिषद आरम्भ भएपनि अहिले सम्म परिषद सम्पन्न नभएको बताए ।

उनले आफूहरु अल्पमतमा रहेको र विपक्षीहरु बहुमतमा रहेको हुँदा नगरपरिषद गर्नमा समस्या भएको बताए ।
मेयर यादवले परिषद सम्पन्न नभएपछि बजेट पास नभएको हुँदा अहिले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई चाडपर्वमा समेत तलबभत्ता नखुवाउन सक्ने अवस्था सृजना भएको बताए।

उनले परिषद सम्पन्न हुन नसक्दा नगरपालिकाको सबै कामकाज ठप्प भएको बताउँदै उनले भने, “परिषद नहुँदा अहिले सम्म खाता संचालन हुन पाएको छैन, खाता संचालन नहुँदा अहिले इन्धन समेत उधारोमा उपलब्ध नहुने अवस्था भएकोले नगर भित्रको फोहोर उठाउने देखि, एम्बुलेन्स, बारुणयन्त्र संचालन समेत अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकलाई भुक्तानी गर्न नसक्दा अहिले इन्टरसेवा समेत अवरुद्ध भएको हुँदा मालपोत लगायतका राजश्व संकलन समेत अवरुद्ध भएको छ।”

Sponsored

मेयर यादवले नगरपालिकाको आन्तरिक श्रोत बजार ठेक्का र बालुवागिट्टीको ठेक्का लगाई सक्नुपर्नेमा पनि अहिले सम्म त्यो काम समेत हुन नसक्दा नगरपालिकालाई करिब वार्षिक ३ करोड घाटा लाग्ने अवस्था देखिएको बताए ।

उनले अहिले नगरपालिकाबाट समाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने बेला भएकोमा त्यो समेत गर्न नसक्ने अवस्थामा रहेको बताए । यहाँ सम्म कि समाजिक सुरक्षा भत्ताको लागि नविकरण र नयाँ दर्ताको आवेदन लिने कार्यसमेत प्रभावित भएको उनले बताए ।

मेयर यादवले भने, “नगरपालिकाको १० वडा मध्ये दुई वडा सहित मेयर गरी तीन जना मात्र नेकपा एमालेबाट जीतेका र बाँकी सबै वडा र नगरकार्यपालिका सदस्यहरु नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरु छन् । जसले गर्दा कार्यपालिकाबाट आफूले गरेको कुनै पनि निर्णय कार्यन्वयनमा समस्या भएको छ।”

उनले आफूले कार्यभार सम्हाले पछि केहि सिफारिस दस्तुरहरु छुट गरेपनि कार्यपालिकाबाट पारित हुन नदिएको, करारका कर्मचारीहरुको करार अवधि समाप्त भएको हुँदा थप नगर्ने, गत आवमा उपभोक्ता समिति मार्फत भएका कामका भुक्तानी सम्बन्धमा अनुगमन गरेर काम भएको मात्र भुक्तानी गर्नुपर्ने निर्णय गरेपनि कार्यपालिकाबाट यस्ता कुनै पनि निर्णय कार्यन्वयनको लागि पास गर्न नदिएको आरोप लगाए ।

मेयर यादवले जनताको काममा अल्पमत बहुमतको खेल छोडेर सबै जनप्रतिनिधि मिलि अघि बढ्न अनुरोध गरेका छन् ।

यसैबीच नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुले दसैं तिहार जस्ता पर्वमा कर्मचारीहरुलाई जसरी पनि तलब खुवाउने बन्दोबस्त हुनु पर्ने माग राख्दै मेयर यादवलाई ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले जनप्रतिनिधि बीचको विवादमा कर्मचारीहरुलाई मार पार्न नमिल्ने ज्ञापनपत्रमा उल्लेख गर्दै दसैं विदा अघि तलब उपलब्ध नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले आफूले दुबै पक्षलाई एकै ठाउँमा राखेर वार्ताको माध्यमबाट सहमती गराउने प्रयास गरेको भएपनि निष्कर्षमा पुग्न नसकेको बताए । उनले दुबै पक्ष आ–आफ्नै अडानमा अडिग रहेको हुँदा कुरा नमिलेको बताए। यस्तै अवस्था रहे आफू पनि कर्मचारीहरुको अगुवाई गर्दै आन्दोलनमा जानु पर्ने बाध्यता हुने जिकिर गरे ।

यता यस समस्या सन्दर्भमा उपमेयर संग जिज्ञासा राख्दा आफूले राजनीतिक पूर्वाग्रहबाट हैन नगरपालिकाको लगानी भईसकेको र काम सिकिसकेका करारका कर्मचारीहरुलाई अहिले तत्कालै काममा फर्काउनु पर्ने र कार्यसम्पादन मुल्यांकनको आधारमा पछि म्याद थप गर्ने नगर्ने प्रावधान हुनु पर्ने र गत आवमा उपभोक्ता समितिले गरेका कार्यहरुको भुक्तानी गर्न मेयर सहमत भए नगरपरिषद सजिलै सम्पन्न हुने बताए।

यसरी नगरपालिकाका जनप्रतिनिधिहरुको आपसी विवादले सर्वसाधारण जनताको काम सेवा ठप्प हुँदा त्यसको प्रत्यक्ष मारमा नगरवासी जनता पर्ने भएकाले चाडै समस्या समाधान नभए नगरका जनता समेत आन्दोलनमा उत्रिने बताउन थालेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *