नागरिकता विधेयक प्रमाणीकरण नभए गणतन्त्र धरापमा पर्छ : उपेन्द्र यादव
टुडेपाटी–
काठमाडौँ, असोज १ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।
उनले संघीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नमिल्ने तर्क समेत गरे ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी समेत दिए ।
‘कुनै पनि पार्लियामेन्टले दोहोर्याएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसद्ले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन । यदि त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको ? त्यसकारणले म भन्छु–संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरु देखिएका छन् । यसप्रति सचेत रहन जरुरी छ’, अध्यक्ष यादवले भने ।
यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गरे ।
Sponsored
प्रतिनिधिसभाले मधेशी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न नसकेको उनको गुनासो थियो ।