मधेश प्रदेश : वडाध्यक्षले अमिनलाई थुनेपछि …
टुडेपाटी–
बारा, भदौ ३० गते ।
बाराको एक स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीसँग दुव्र्यवहार गरेपछि कर्मचारीहरु आन्दोलित भएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्षले नापीका कर्मचारी माथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमराका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् ।
वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै २ जना अमिनलाई ३ घन्टासम्म थुनेर गाली गलौज गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।
कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाएका थिए । जग्गा नाप्न पुगेका अमिनहरु अदालतमा मुद्दा विचाराधीन रहेको विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अटेर गरेपछि वडाध्यक्ष कार्कीले कुशहवा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले आरोप लगाएका छन् ।
थुनिएका कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ उद्धार गरेका थिए ।
Sponsored
यता, वडाध्यक्ष कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताए ।