माओवादी कमजोर भए राजनीतिक उपलब्धि गुम्न सक्छ : प्रचण्ड
टुडेपाटी–
काठमाडौँ, भदौ ३० गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् । उनले
पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताए ।
प्रचण्डले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी उनले गरे ।
उनले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव नरहेको, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव नरहेको भन्दै भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।’
माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर हुन सकेन भने प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने उल्लेख गर्दै उनले गत वर्ष त्यो परिस्थिति देखिएको पनि प्रस्ट पारे ।
Sponsored