पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका छैटौंपटक एसियाकपको विजेता
टुडेपाटी-
जनकपुरधाम, भदौ २७ गते ।
एसियाकप टी–२० क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
आठ वर्षपछि उपाधि जित्ने क्रममा श्रीलंकाले बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो । यसअघि २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो । श्रीलंकाले छैटौँ पटक एसिया कपको उपाधि जितेको हो ।
पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ तथा इफ्तिखर अहमेदले ४२ रन तथा थप दोहोरो स्कोरका रुपमा हरिफ रउफले १३ रन बनाएका थए । उसका अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका प्रमोद मधुसनले ४ विकेट लिए । त्यस्तै वानिन्दु हसरंगाले ३ विकेट हात पारे ।
Sponsored
त्यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाको पनि सुरुवात खराब रहेको थियो । उसले ५८ रन जोड्दा ५ विकेट गुमाएको थियो। तर श्रीलंकाको इनिङ्स भानुका राजापाक्ष र वानिन्दु हसरंगा डि सिल्भाले समालेका थिए । उनीहरूले छैटौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । त्यस्तै राजपाक्ष र चामिका करुनारत्नेले सातौँ विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे ।
राजापाक्षले आफनो इनिङमा ४५ बल खेल्दै ६ चौका र ३ छक्काको सहयोगमा ७१ रनको नटआउट इनिङ खेल्दा हसरंगाले २१ बलमा ४६ रन बनाए । त्यस्तै करुनारत्ने १४ रनमा नटआउट रहँदा थप दोहोरो स्कोरका रुपमा धनञ्जय डी सिल्भाले २८ रन जोडेका थिए । पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिएका थिए । एजेन्सी