मधेश आन्दोलनपछि मधेशीलाई नागरिक मान्न थालियो : यादव
टुडेपाटी–
जनकपुरधाम, भदौ २५ गते ।
मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
जनकपुरधाममा मधेश आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको बताए ।
उनले मधेशसहित विभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि नमानिएको भन्दै भने, ‘मधेशीलाई बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो । वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको छ ।’
शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष यादवले बताए ।
लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व रहेको बताए ।
Sponsored