लहानमा वृक्षारोपण गरेर बीपी कोइरालाको १०९ औं जन्मजयन्ती मनाइयो
टुडेपाटी-
सिरहा, भदौ २५ गते ।
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको १०९ औँ जन्म जयन्ती सिरहाको लहानमा वृक्षारोपण गरी मनाइएको छ । नेता कोइरालाको जन्मदिनको सम्झनामा नेपाली कांग्रेस सिरहा १ (क) प्रदेश समितिले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको खुला मैदानमा वृक्षारोपण गरेको हो ।
सिरहा–१ (क) प्रदेशका सभापति सन्तोष उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसको वैचारिक र सङ्घर्षशील नेता बीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल सिद्धान्तमा कांग्रेस अघि बढ्नुपर्ने वृक्षारोपण कार्यक्रममा कांग्रेसका युवा नेताहरूले धारणा व्यक्त गरे । नेपाली कांग्रेस सिरहा १ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश चौधरीले बीपी कोइरालाको आदर्श, सिद्धान्त र दृष्टिकोणलाई छाड्न नहुने बताए ।
उनले भने, “कांग्रेस देशको पुरानो पार्टी मात्रै होइन, लोकतन्त्रको पर्यायवाचीसमेत रहेकोले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न बीपीको विचारलाई अघि सारेर जानुपर्छ।”
पर्यावरणको रक्षा रुख रोपेर मात्रै सम्भव भएकोले रुख रोपौँ, पर्यावरण जोगाऔँ र नेपाली कांग्रेसलाई जिताऔँ भने मूल नाराको साथ अघि बढ्नुपर्ने नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा लहान–१३ का वडाध्यक्ष मनोजकुमार कोइरालाले बताए ।
बीपी कोइराला नेता र साहित्यकार दुबै भएकोले उनले नेपाली साहित्यमा गरेका योगदानलाईसमेत कदर गर्न उनको लेख रचनाहरू पढेर कांग्रेसका नेताहरू समाजवादको पक्षमा लाग्न अर्का युवा नेता विष्णु साह बनियाँले सुझाए ।
Sponsored
लहान क्याम्पसको हाताभित्र वृक्षारोपण कार्यक्रम गरेर राम्रो सन्देश दिएको निमित्त क्याम्पस प्रमुख सञ्जय चौधरीले जानकारी दिए ।