राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको प्रचण्डको आरोप
टुडेपाटी–
काठमाडौँ, भदौ २३ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन् ।
शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले केही दिनअघि राष्ट्रपति भण्डारीसँग छलफल गर्ने क्रममा नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताए ।
नागरिकता विधेयक अब दोस्रो पटक संसद्बाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसँग जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने चेतावनीसमेत उनले दिए ।
दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने दाहालको भनाइ थियो ।
नागरिकता विधेयक यसपटक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको दाहालले बताए । राष्ट्रपतिबाट प्रमाणीकरण नभए अदालतमा जाने वा राजीनामा आउने उनले बताए ।
Sponsored