मधेस प्रदेश : मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै प्रदर्शन
टुडेपाटी-
बारा, भदौ २४ गते ।
बारामा मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै प्रदर्शन गरिएको छ । तीन पालिकाका बासिन्दाले कामकाज अवरोध गर्दै सदरमुकाम कलैयामा जुलुस निकालेका हुन् ।
महागढीमाई नगरपालिका–९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा सो सेवा पहिलाकै स्थानमा राख्न मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै दुई घण्टा प्रदर्शन गरिएको छ ।
महागढीमाई–९ का वडाध्यक्ष दिलीप शुक्लाको नेतृत्वमा मालपोत कार्यालयदेखि निस्केको जुलुसले कलैयामा मालपोत यथावत् राख्न माग गरेको थियो ।
जुलुसमा पुरुषभन्दा महिलाको सङ्ख्या अत्यधिक थियो । वडाध्यक्ष शुक्लाको अध्यक्षतामा सम्पन्न कोण सभामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले पायकपर्ने ठाउँमा कार्यालय राख्नु साटो अर्को नगरपालिकामा मालपोत तथा नापी कार्यालय लैजाने निर्णय गलत रहेकाले पुनः सोही ठाउँबाट सेवा सुविधा प्रदान गर्नु राज्यको कर्तव्य रहेको बताए ।
“नागरिकलाई सास्ती दिने होइन, दबाब बिनामाग पूरा नभएपछि जनताले आन्दोलन रोज्न बाध्य भएका हुन् । पहिलाको स्थान कलैयाबाट नै सेवा सञ्चालन गर्नुपर्छ,” उनले थपे ।
Sponsored
यसैगरी देवताल गाउँपालिकाका स्थानीय नेता रामचन्द्र चौधरीले यो कदम त्रुटिपूर्ण रहेकोले यसलाई सच्याएर पुरानै स्थानबाट सेवा दिनसम्बन्धित निकायलाई अनुरोध गरेको जानकारी दिए ।