कांग्रेसबाट बागी भएर ललन चौधरी धनुषा– ३ ‘क’ बाट उम्मेदवारी दिने
टुडेपाटी–
जनकपुरधाम, भदौ १९ गते ।
नेपाली कांग्रेसबाट बागी भएर धनुषा क्षेत्र नं. ३ (क) बाट ललन चौधरीले उम्मेदवारी दिने भएका छन् ।
पञ्चायती शासनविरुद्ध संघर्ष गरेका ‘जिउँदो सहिद’ उपनाम पाएका चौधरीले प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसका योद्धा समेत रहेका नेता चौधरीलाई धनुषा कांग्रेसले बेवास्ता गरेको र पटकपटक एउटै व्यक्तिलाई अवसर दिने निर्णय गरेपछि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट आफू उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन् ।
२०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलनका अगुवा समेत रहेका नेता चौधरीले साथीभाइ, शुभचिन्तक, समर्थकहरुको व्यापक दबाब रहेकाले आफूले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारी थालेको बताए ।
उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई आफूले पटकपटक सहयोग, समर्थन र साथ दिँदासमेत आफ्नो अवमूल्यन गरेकाले आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।
Sponsored
नेता निधिको सिफारिसमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई नै पुनः प्रदेशसभा सदस्यका लागि सफारिस गरेपछि चौधरीले स्वतन्त्र रुपमै भए पनि उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।