मधेशका मुख्यमन्त्री राउतको क्षेत्रमा एमालेबाट ५ जनाको नाम सिफारिस
टुडेपाटी-
वीरगञ्ज, भदौ १७ गते ।
आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि विभिन्न पार्टीबाट अहिले धमाधम उम्मेदवार सिफारिस हुन थालेका छन् । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित निर्वाचन क्षेत्रबाट नेकपा एमालेले प्रदेश सभातर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि आसन्न निर्वाचनमा प्रदेश सांसदको लागि पाँच जनाको नाम सिफारिस गरिएको हो ।
क्षेत्र नम्बर १ (ख) का लागि प्रत्यक्षतर्फबाट सुन्दर प्रसाद कुर्मी, शम्भु गुप्ता, ओमप्रकाश गुप्ता, अफताब आलम र महबुब अलीको नाम सिफारिस गरिएको एमाले पर्साका सचिव रहेका सुन्दरप्रसाद कुर्मीले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ १५ जना उम्मेदवारहरूको नाम सिफारिस गरिएको उनले बताए ।
एमाले पर्सा क्षेत्र नम्बर १ (ख) का संयोजक कमलेश गुप्ताको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हाे ।
Sponsored
प्रत्यक्षबाट उम्मेदवारको रूपमा सिफारिस भएका शम्भु गुप्ता ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।
यसैगरी, पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सांसदको लागि एमालेले एकजनाको मात्रै नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट एमाले केन्द्रीय सदस्य राजकुमार गुप्ताको नाम मात्रै सिफरिस गरिएको एमाले पर्साका सचिव सुन्दर कुर्मीले जानकारी दिए ।
गुप्ता ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रमा पराजित भएका थिए ।