७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार
टुडेपाटी–
काठमाडौँ, भदौ १३ गते ।
नेपालमामा ७० वर्षको अवधिमा सावा चार लाख नागरिकले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
नागरिकता प्रमाणपत्रसम्बन्धी कानुन बनेको ७० वर्षमा ४ लाख २४ हजार ४ सय २२ महिलाले ‘वैवाहिक अंगीकृत’ नागरिकता लिएका छन् ।
नेपाली पुरुषसँग विवाह गरेर आएमा वैवाहिक अंगीकृत नागरिकता दिइने गरिन्छ ।
भारत, चीन, अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, भुटानलगायत ८० देशका महिलाले बिहे गरेर नेपाल आएपछि वैवाहिक अंगीकृत नागरिकता पाएको गृह मन्त्रालयले जनाएको छ ।
१३ हजार ५ सय ५२ जनाको भने राष्ट्रियता खुलेको छैन ।
Sponsored
भारतबाट बिहे गरेर आएपछि वैवाहिक अंगीकृत नागरिकता लिएका महिलाको संख्या ३ लाख ९६ हजार ५ सय ५७ रहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
नेपाली मूलका १३ हजार ५ सय ७, फिलिपिन्सका १ सय ६१, आइसल्यान्डका १ सय ५३, चिनियाँ १ सय ३७, इन्डोनेसियाका ५६, भुटानका ४६, बंगलादेशका २२, नेदरल्यान्ड्सका १९ र म्यानमारका १६ महिलाले नेपाली पुरुषसँग विवाह गरी अंगीकृत नागरिकता लिएका छन् ।
प्रदेश १ अन्तर्गतका जिल्ला प्रशासन कार्यालयबाट ४२ हजार ७ सय ६१, मधेश प्रदेशका जिल्लाबाट २ लाख २९ हजार ९ सय ७३, वाग्मतीबाट २ हजार ८७, गण्डकीमा ३ हजार ३ सय ८४, लुम्बिनीमा १ लाख ४३ हजार १ सय ४, कर्णालीमा ८७ र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट ३ हजार २६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।