भाजपा नेतृ फोगाटको बलात्कारपछि हत्या भएको दाबी, २ जना आरोपित पक्राउ
टुडेपाटी-
नयाँदिल्ली, भदौ ११ गते ।
भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फोगाटको शव परीक्षणका क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।
फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भाजपाको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार थिइन् ।
पारिवारिक स्रोतका अनुसार सिसिटिभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।
Sponsored
पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् । प्रारम्भिक रिपोर्टहरूमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो ।
तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए ।
उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका छन् ।
उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरे ।
ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए ।
त्यस्तै, उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटिएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप पनि लगाएका छन् ।