लोसपा नेता सिंह जनमत पार्टीमा प्रवेश
टुडेपाटी-
राजविराज, भदौ ९ गते ।
सयौं नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्।
लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराएका हुन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने डा.राउतले घोषणा गरिसकेका छन्।
उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा.राउतले चुनाव लड्ने भएपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको इन्चार्ज झाले बताएकी छिन् ।
२०७४ को चुनावमा सिंह तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।
Sponsored