नागरिकता विधेयक फिर्ता भए देशभर जनविद्रोह हुने मन्त्री महतोको चेतावनी
जितेन्द्रप्रसाद सिंह-
जनकपुरधाम, साउन २८ गते ।
मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नभई फिर्ता भए देशभर जनविद्रोह हुने चेतावनी दिएका छन् ।
धनुषाको उत्तर पश्चिमी क्षेत्र बटेश्वर गाउँपालिका वडा नं.१, चित्रपुरस्थित लवकुश बजारमा शनिवार बिहान लवकुश मेलाको उद्घाटन गर्दै मन्त्री महतोले भने,“करिव दुई सातादेखि विचाराधीन अवस्थामा रहेको नागरिकता संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनुको विकल्प छैन । नागरिकता संशोधन विधेयक फिर्ता भए जनविद्रोहको लागि जनताको साथ आवश्यक छ ।”
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतासमेत रहेका मन्त्री महतोले भने–“नागरिकता संशोधन विधेयक प्रमाणीकरण भए ५० औं वर्षदेखि नागरिकताविहीन तराई मधेशसहित देशभरका यथार्थ नेपालीहरुले नागरिकता पाउने बाटो खुला हुनेछ,” उनले भने । “नागरिकता दिने नाममा गलत व्यक्तिहरुलाई नागरिकता दिने पक्षमा भने हामी छैनौं, छानवीन गरी यथार्थ नागरिकहरुलाई सहज तरिकाले नागरिकता दिनुपर्छ,” उनले थपे–“नागरिकता नपाएर युवाहरु उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनुको साथै अन्य राष्ट्रमा पलायन हुने अवस्थाको सृजना भएकाले राज्य पक्ष तत्कालै सतर्क हुनु आवश्यक छ ।”
लवकुश विकास प्रतिष्ठानको आयोजनामा शनिवारबाट सुरु भएको लवकुश मेला आइतबारसम्म आयोजना हुनेछ । रक्षाबन्धनको अवसर पारेर विगत २६ वर्षदेखि लवकुश मेलाको आयोजना हुँदै आएको स्थानीय शिक्षक रामवृक्ष महतोले बताए ।
लवकुश बिकास प्रतिष्ठानको आयोजनामा २७ औं लवकुश जन्मोत्सव कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कर्मबिर महतोको अध्यक्षता र मन्त्री महतोको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । यस अवसरमा गृह तथा सचार मन्त्रालयका प्रदेश सचिव रामकुमार महतोलगायत जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।
Sponsored