TodayPati

टुडेपाटी-

जनकपुरधाम, साउन २६ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका १८ वर्षीय किशोर अर्जुन साहको पूर्वयोजना बनाएर महोत्तरीमा हत्या भएको रहस्य खुलेको छ ।

गत साउन २३ गते बिहान महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकमा अर्जुनको शव फेला भेटिएको थियो।

जनकपुरमा टेम्पो चलाउने अर्जुनको योजनावद्ध हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ । अर्जुनको हत्या आरोपमा पाँचजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लोहारपट्टी नगरपालिका-४ घर भइ हाल जनकपुरधाम ७ बस्ने ३२ वर्षीय जितकुमार यादव, लोहारपट्टी नगरपालिका ४ घर भइ हाल जनकपुरमै डेरा गरेर बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुर १८ बस्ने २५ वर्षीय सन्तोष कुमार, धनुषाको औरही गाउँपालिका-२ पौडेश्वर घर भइ क्षिरेश्वरनाथ नगरपालिका २ महेन्द्रनगरमा डेरा गरी बस्ने २१ वर्षीया प्रमिला महरा र औरही नगरपालिका २ पौडेश्वर भइ हाल क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगर बस्ने बिगुल मुखिया विन छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

घरमा भएको चोरीको घटना ढाकछोप गर्न बार्गेनिङ गरेर अर्जुनका घरपरिवारले चोरीमा संलग्नहरूसँग तमसुक बनाएको कारण नै हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।

जित कुमार यादवका भाइ कृष्ण र बिगुलकी श्रीमती २१ वर्षीया प्रमिलाको पूर्व योजनामा नै अर्जुनको हत्या भएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।

उनीहरुको योजनामा जित कुमार र सन्तोषले अर्जुनलाई रिजर्भमा जाने भनेर ट्याम्पोमा चढाएर भित्री सडकमा लगेपछि हत्या गरेको खुलेको हो।

प्रहरीका अनुसार भ्रमरपुराको भित्री सडकमा दुवैजना मिलेर गम्छाले घाँटीमा पछाडिबाट पासो लगाई हत्या गरेपछि शव नहरमा फालेका थिए।

करिब एक वर्ष पहिले प्रमिला र उनका श्रीमान् बिगुल र कृष्णले अर्जुनको घरबाट एक लाख नगद र सुनका गहना चोरी गरेका थिए।

घटनाको ६ महिनापछि मृतक अर्जुनकी आमाले प्रमिला र कृष्णले चोरी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्ने भन्दै धम्क्याइन्।

त्यसपछि आपसी सहमतिमै उक्त रकम तिर्न बिगुलसँग एक लाख १७ हजार र कृष्णसँग दुई लाख ४६ हजारको कपाली तमसुक बनाएका थिए। कपाली तमसुक बनाएदेखि दुवै बेपत्ता थिए।

प्रहरीका अनुसार केही साताअघि उनीहरुलाई अर्जुनकी आमाले जनकपुरमा फेला पारेकी थिइन्। तमसुक बमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्छु भनेर उनले धम्क्याएकी थिइन्।

त्यसको रिसले आक्रोशित भएर प्रमिला, उनका श्रीमान् बिगुल र कृष्णले आमा छोराको हत्या गर्ने योजना बुनेका थिए। घरबाट सुनको गरगहना, नगदसहित तमसुकसमेत उनीहरुले फेरि लुट्ने योजना बनाए।

योजनाअनुसार कृष्णले जितकुमार र सन्तोषलाई अर्जुनको हत्या गरे ३० हजार दिने प्रलोभन देखाए।

साउन २० गते जित कुमारले अर्जुनलाई फोन गरी ट्याम्पो भाडामा लिए।

साँझ अर्जुनकै अटोमा चढेर उनीहरु त्यतातिर लागे। गम्छाले घाँटी कसेर हत्या गरेपछि शव छोडेर उनीहरु जनकपुर फर्किन थाले।

जनकपुरधाम(७ मुसहरी टोलमा ट्याम्पो फसेपछि उनीहरुले त्यहीँ छाडेर फरार भएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पंगेनीले पत्रकार सम्मेलनमा बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *