बर्दिवासका आन्दोलनरत शिक्षकद्वारा नगरपालिका घेराउ, ५ दिनदेखि पालिकाको कामकाज ठप्प
टुडेपाटी-
बर्दिवास, साउन २६ गते ।
महोत्तरीको बर्दिवास नगरपालिकाका आन्दोलनरत करारका शिक्षकहरुले नगरपालिका घेराउ गरेका छन् । पुर्नवहालीको माग गर्दै आन्दोलनरत्त शिक्षकहरुले बिहीबार नगरपालिकाको कार्यालयमा नारा जुलुश गरेका हुन् ।
आइतबारदेखि आन्दोलनरत्त शिक्षकहरुले आज पाँचौदिन नगरपालिकाको कामकाज ठप्प पारेका छन् । नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधी तथा कर्मचारीहरुलाई पस्न रोक लगाइएको पीडित शिक्षक भिखारी दासले बताए ।
बर्दिवास नगरपालिकाका पूर्व मेयर विदुरकुमार कार्कीले गत वर्ष ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । निर्वाचित मेयर प्रह्लादकुमार क्षेत्रीले करार शिक्षकहरुको म्याद झुक्कयाएर थप नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरुलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सूचना दिएका थिए ।
यता, बर्दिवास नगरपालिकाका मेयर क्षेत्रीले ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा शिक्षकहरुलाई आउन आग्रह गरेको छ ।
Sponsored