रौतहटको बागमती र लालबकैया नदीमा कटान सुरु, स्थानीय त्रसित
टुडेपाटी-
रौतहट, साउन २३ गते ।
रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा बागमती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ । बागमतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो ।
कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको छ ।
कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परबानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँस राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ । नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रजिअ शाहीले बताए ।
यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ । स्थानीय तहले पनि कटान क्षेत्रमा बोरामा बालुवा राखेर रोक्न सहयोग गरिरहेको छ । बर्खाको बेला दुवै नदीले डुबान र कटानको समस्यामा हुँदै आएको छ । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा छन् । गत वर्ष बौधीमाई र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको थियो ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले कटान गरेको क्षेत्रमा स्थायीरुपमा नियन्त्रण गर्नुपर्ने बताए । गौर–४ स्थित बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेपछि निरीक्षण गर्न गएका नगरप्रमुख साहले भने, ‘बर्सेनि कटानले स्थानीयलाई त्रासमा परेको छ । केन्द्रीय सरकारले स्थायी नियन्त्रणको प्रयास गर्नु पर्छ । बोरा राखेर अस्थायी नियन्त्रण गरेर मात्र हुँदैन । यसले निकट भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।’
Sponsored
बाढीबाट हुने धनजनको क्षति रोक्न तत्कालीन जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनमार्फत भारत सरकारको सहयोगमा दुई दशकअघि बागमती र लालबकैया नदीको दुवैतिर ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । कटानले बाँध समेत खतरामा परेको छ ।