जनकपुरधाममा नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, यस्तो छ निर्णय
टुडेपाटी–
जनकपुरधाम, साउन २१ ।
जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीहरुबीचको बैठक सम्पन्न भएको छ ।
शनिवार जनकपुरधाम स्थित होटेल सिताशरणमा बसेको सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले यो नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठक रहेको र यस्ता बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै समय समयमा सुरक्षाकर्मीहरुबाट सहयोगपनि भेटिरहेको बताए ।
शनिवारको बैठकमा सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागूऔषध ओसारपसार लगायतको विषयमा छलफल भएको उनले बताए ।
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्नेभए सम्बन्धीत निकायमा पहल गर्ने, हराएको भए खोजी गर्ने लगायतको विषयमा निर्णय भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
Sponsored
बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो । यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कु्मार वर्मा, विहार प्रहरी, एसएसबी लगायतका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।