TodayPati

‘गर्भमा छोरी रहेको थाहा पाएपछि घरपरिवारले पुनमको हत्या गर्यो’

टुडेपाटी-
रौतहट, साउन १९ गते ।

पाँच महिने गर्भवती महिलाको विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।
रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो ।

गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा पुनको शव फेला परेको थियो ।

Sponsored

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो ।

माइत पक्षले बिहीबार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवार मिलेर हत्या गरेको दावी गरेका हुन् ।
गर्भमा पुनः पाँच महिनाको छोरी रहेको थाहा पाएपछि पुनमको घरपरिवार मिलेर हत्या गरी पासोमा झुण्ड्याएर अत्महत्या गरेको पुष्टि गर्न खोजेको दाई पन्नालालले दावी गरे ।
मृत्यु भएको करिब १० घन्टाको अन्तरालमा माइतपक्षलाई जानकारी दिएको र प्रहरी तथा ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको आरोप लगाए ।
उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएका थिए । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारजनले गर्भ तुहाउन दबाब दिएका थिए । तर पुनमले इन्कार गरेपछि हत्या गरेर पासोमा झुण्ड्याई आत्महत्या गरेको नाटक गरी घरपरिवार उम्किन खोजेको दाई पन्नालालको आरोप छ ।

‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो । न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेका छौं । तर प्रहरीले मुद्दा दर्ता गर्न मानिरहेको छैन’ दाई पन्नालालले भने ‘ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुच छ । त्यसैले प्रहरीले कुनै हामीलाई कुनै वास्ता गरेका छैनन् ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *