उद्योगमैत्री वातावरण समृद्धिको आधार : मुख्यमन्त्री राउत
टुडेपाटी–
बारा, साउन १७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग मैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार रहेको बताएका छन् ।
मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योग मैत्री वातावरण विना प्रदेश अथवा देशको समृद्धिको परिकल्पना समेत गर्न नसकिने बताए ।
प्रदेश सरकारले उद्योगहरुको लागी विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानूनको आभावमा कार्यान्वयन गर्न समस्या भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब शुरू गर्न संघीय सरकारसँग माग समेत गरे ।
सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेश प्रदेशका युवाहरुलाई उचित तालिमको ब्यवस्था गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीहरुलाई आग्रह समेत गरे ।
उद्योग धन्धाहरुको स्थापना देखी संचालन सम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणाली मार्फत अघि बढेको स्मरण गराउदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले हिजो मात्र विरंगंजमा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।
Sponsored
सम्मेलनमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गरे ।
औद्योगिक विकासका लागी प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरुबारे जानकारी गराउदै उनले प्रदेशको आर्थिक समृद्धि र विकासका लागी निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।
सम्मेलनमा उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्याहरुको समाधानको बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।