कैलालीको २१ वर्षीय युवाले पनि जिते कोरोना, निको हुनेको संख्या ४ पुग्यो
टुडेपाटी-
धनगढी, वैशाख ७ गते ।
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ पुगेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको हो । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।
भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकोमा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेका छन् ।