TodayPati

बुवाआमाले चिया बेचेर पढाएकी रेखाले सरकारी स्कुलबाट एसईईमा धनुषा, महोत्तरी र सिरहामै टप !

प्रतिभा झा-
जनकपुरधाम, साउन १५ गते ।

गरिबीले उनका बुवा राजनरायण महतो सानै उमेरमा देश छोडेर नयाँ दिल्ली कमाउन गए । उनको परिवारको आर्थिक विपन्नता कहालीलाग्दो थियो ।

दिल्लीमा नोकरी गरेर जसोतसो उनले परिवार धानिरहेका थिए । तर मिहिनेत अनुसार पारिश्रमिक नपाएपछि उनी आफु जन्मकै माटोमा परिश्रम गरेर घरबार चलाउने निधो गरे ।

Sponsored

गाउँ छेवैमा धनुषाको बटेश्वर गाउँपालिका—२ स्थित कार्तिकुमर बजारमा सानो चिया—नास्ताको पसल थापे । बिहान साढे चारबजेदेखि राति १० बजेसम्म पसलमै मिहिनेत गरिरहे ।

आफू नपढेर दर्जनौं ठाउँ हण्डर खाएका उनका बुवाले निधो गरे— ‘नपढेर मैले धेरै दुःख भोगे तर छोराछोरीलाई जसरी पनि पढाउँछु, दिनरात जतिसुकै मिहिनेत किन नगर्न परोस ।’

उनै राजनरायणकी छोरी रेखा कुमारीले एसईई परीक्षामा सामुदायिक विद्यालयबाट धनुषा, महोत्तरी र सिरहामै सबैभन्दा धेरै ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याइ उतिर्ण भएकी छन् । हुन त रेखा मधेश प्रदेशमै सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै जीपीए ल्याएर उतिर्ण भएको दावी गरिन्छ । यद्दपी यसको औपचारिक विवरण आउन बाँकी रहेको शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

Sponsored

गएको बुधबार प्रकाशित एसईईको नतिजा अनुसार रेखाले ३.९५ जीपीए ल्याएर उतिर्ण भएकी छन् । उनी महोत्तरीको बर्दिबास नगरपालिका—७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगरबाट एसईई दिएकी थिइन् । यद्दपी उनी कोचिङ्ग भने कार्तिककुमरस्थित सनसाईन ईङ्गलिस बोर्डिङ स्कुलबाट पढेकी थिइन् ।

बुवाआमाले चिया नास्ता बेचेर पढाएकी रेखाले धनुषा र महोत्तरी जिल्लामै समुदायिक विद्यालयबाट सबैभन्दा धेरै जीपीए ल्याएर उर्तिण भएपछि उनलाई बधाई दिनेको लर्को लागेको छ ।

आमाबुवा, समाज र गुरुजनको स्नेह एवं आर्शिवादले आफूले लक्ष्य लिएजतिको नम्बर प्राप्त गरी उतिर्ण हुन सफल भएको रेखा बताउँछिन् ।

‘म आमाबुवाले गर्नुभएको दुःख, कष्ट देखेकी छु । तैपनि मलाई पढाईलेखाइमा कहील्यै कुनै कमी हुन दिनुभएन । मेरा गुरुजनले सिकाइमा कहीँकतै त्रुटी हुन दिनुभएन । मिहिनेत र लगनशील भएर पढ्न सिकाउनुभयो,’ रेखाले भनिन्, ‘गुरुजन र सरसमाजले पनि राम्रो पढ्न हौसला दिनुभयो । यहाँ वातावरण पनि मैले राम्रो पाएँ । अब योभन्दा पनि राम्रो पढेर उहाँहरुको शिर अझै उठाउन चाहन्छु ।’

रेखा कक्षा ११ मा व्यवस्थापन पढ्ने ईच्छा व्यक्त गरेकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *