उद्योगमन्त्री बडुद्वारा जनकपुर चुरोट कारखानाको अनुगमन
टुडेपाटी–
जनकपुरधाम, साउन ११ गते ।
लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अनुगमन गरेका हुन् ।
ज्ञबुधवार मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको सो कारखानाको अनुगमन गर्दै मन्त्री बडूले जचुकालि सरकारले चलाएर निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि अनुगमनमा आएको बताए ।
उनले यहाँको मेसिनरी पनि ठिक्कै अवस्थामा रहेको र ठाउँपनि बढी रहेको भन्दै टेक्निकल टिमलेभनेपनि यसको वास्तविकता आउने बताए ।
सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउनका लागि विभिन्न नीतिहरु लिएको र उद्योगहरुको क्षमता बढाउने, नयाँ उद्योग सञ्चालन गर्नुका साथै बन्द रहेको कारखानाहरुलाई सञ्चालन गर्नका लागि बजेटहरुसमेत ल्याएको भन्दै मन्त्री बडूले भने, ‘हामीले यस कारखानालाई चलाउँदा किन रोकियो त्यसको पनि मूल्यांकन गर्नुपर्छ र यसले हामीलाई एउटा पाठ सिकाउँछ । सरकारले आफैले चलाउने कि, सरकारले चलाउन नसके निजी क्षेत्रसँग सहकार्य गरेर चलाउन सकिन्छ, त्यसका अतिरिक्त अरु के उपाय हुन सक्दछ ।’
उद्योगहरु चलाएर निर्यातको अवस्था बनाए, राम्रो बस्तु उत्पादन गरे मुलुकको व्यापार घाटा समेत कम गर्न सकिने मन्त्री बडुले बताए ।
अनुगमनको क्रममा मन्त्री बडूसँगै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेश सरकारका कर्मचारी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु उपस्थित थिए ।
Sponsored