TodayPati

मिटरब्याजीलाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन

टुडेपाटी-
सिरहा, साउन ९ गते ।

सिरहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय दे’, ‘गरिबहरूलाई सहुलियत दरमा बैंक ऋणको व्यवस्था गर्’ लगायतको नारा लगाउँदै नगरको बजार क्षेत्र परिक्रमा गरी मुख्य चोकमा कोणसभा गरेका थिए ।

Sponsored

कोणसभामा वक्ताहरूले मधेसमा खराब संस्कृतिको रूपमा मौलाएको मिटरब्याजविरुद्ध कानुनसँगै राजनीतिक लडाइँ लड्नुपर्ने बताए ।

सामाजिक अभियन्ता संघर्ष दाहालले मिटरब्याजबाट समाजका कथित तल्लो जातमा पारिएका र गरिब, निम्न मध्यम वर्गका मानिसहरू बढीपीडित रहेको चर्चा गर्दै सामान्य घरव्यवहारका लागि लिएको थोरै ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कैयौँको उठिबास भएको जानकारी दिए ।

प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिँदासमेत स्थानीय प्रहरी प्रशासनले विद्यमान कानुनबमोजिम कारबाही गर्न नसकिने भन्दै मिटरब्याजीहरुलाई छोडिदिँदा उनीहरू अझ मैमत्त बन्दै गएको दाहालको भनाइ छ । ‘कानुनी लडाइँले मात्र हुँदैन, राजनीतिक दलहरूको सहयोगमा सशक्त लडाइँ लड्नुपर्छ,’ उनले भने, ‘मिटरब्याजीहरूलाई कानुनी कठघरामा नल्याएसम्म आन्दोलन जारी रहनेछ ।’

Sponsored

औरही गाउँपालिका–४ का अगुवा मनोजकुमार पासवानले दलित, विपन्न, निमुखाहरूको जीवनमाथि खेलबाड भइरहेको भन्दै मिटरब्याजीविरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

गाउँघरमा विपन्न दलित बस्तीमा मिटरब्याजीले आतंक मच्चाइरहेको चर्चा गर्दै पासवानले भने, ‘घरव्यवहार चलाउन लिएको ऋणको तीन दोब्बर कपाली तमसुक बनाउनुका साथै जग्गासमेत आफ्नो नाममा पास गराएर सुद्खोरहरूले त्यही तमसुकको आधारमा लेनदेन मुद्दा चलाई गरिब बिपन्नको उठिबास गराउन थालेपछि गाउँघर आतंकित बनेको छ ।’

गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिँदा तीन दोब्बरको हो भन्दै १२ लाख रुपैयाँसम्मको तमसुक बनाएर अप्ठ्यारोमा परेकाहरूमाथि ठूलो अन्याय भइरहेको बताए ।

राजनीतिक दलहरूले मिटरब्याजी पीडितहरूलाई सघाउन महतोले आग्रह गरे । कोणसभामा गोलबजार र औरहीका मिटरब्याजबाट पीडितहरूको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *