पर्सामा राहत सामाग्री लुटपाट गरेको आरोपमा ५ जना प्रहरीको फन्दामा
टुडेपाटी-
वीरगञ्ज, वैशाख ७ गते ।
पर्सामा लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गका घरपरिवारलाई वितरण गर्न लगिएको राहत सामाग्री लुटेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार छन् ।
उनीहरुलाई पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए ।
एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी ६ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जानकारी दिएको छ ।
Sponsored