वीरगञ्ज नाकाबाट ४७ करोड बढीको माछा आयात, ११ करोड राजश्व संकलन
टुडेपाटी-
वीरगञ्ज, साउन ६ गते ।
गएको आर्थिक वर्षमा देशकै प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकामा माछा आयात बढेको छ ।
वीरगञ्ज भन्सार नाका भएर मात्रै आर्थिक वर्ष २०७८/७९ मा ४७ करोडभन्दा बढीको माछा आयात भएको हो ।
यो नाका भएर गत आर्थिक वर्षको साउनदेखि असारसम्म १२ महिनामा ४७ करोड ७२ लाख २९ हजार बराबरको माछा आयात भएको भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
माछा आयातबाट वीरगञ्ज भन्सारले ११ करोड ३७ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने वीरगञ्ज नाका भएर ३२ करोड २९ लाख ४४ हजार बराबरको मात्रै माछा आयात भएको थियो । यो तथ्यांकअनुसार २०७७/७८ भन्दा गत आर्थिक वर्षमा १५ करोड ४२ लाख ८५ हजार मुल्य बराबरको बढी माछा नेपालमा आयात भएको हो ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै विदेशबाट नेपालमा ३ कराेड ५१ लख ९६ हजारको माछा आयात भएको थियो ।
Sponsored
यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा वीरगञ्ज नाका भएर २ करोड ८६ लाख ६० हजार बराबरको मासु नेपालमा आयात भएको छ । मासुको आयातबाट भन्सारले ५० लाख ३९ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने वीरगञ्ज नाका भएर नेपालमा २ करोड ५२ लाख ७९ हजारको मासु आयत भएको थियो ।
वीरगञ्ज भन्सार नाका भएर विशेष गरी भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुने गरेको छ ।सरकारले माछा पालन व्यवसायको लागि विभिन्न किसिमको सहुलियत ऋणको व्यवस्था गरे मात्र आयात कम हुने र आफ्नै ठाउँबाट आर्थिक उन्नति गर्न सक्ने व्यवसायीहरु बताउँछन् ।