TodayPati

मधेश प्रदेश : दाइजोका कारण नवविवाहित युवतीको हत्या

टुडेपाटी-
रौतहट, साउन ६ गते ।

रौतहटमा दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आशंका गरिएको छ । रौतहटको वृन्दावन नगरपालिका–६ सिसवा धमौरामा दाइजोका कारण युवतीको हत्या भएको हो ।

कटहरिया नगरपालिका–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो । गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरे ।

Sponsored

मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन् । आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ ।

ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाएका छन् ।

उनले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिन खोज्दा समेत प्रहरीले जाहेरी लिन नमानेको बताए । प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेको भन्दै आक्रोश पोखे ।

Sponsored

जातीय परम्परा अनुसार एक महिनाअघि २०७९ असार ६ गते रमाकान्तसँग सञ्जुको विवाह भएको थियो । विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको रामचन्द्रको भनाइ छ ।

सञ्जुको बिहेमा दाइजोकै विषयलाई लिएर विवाद भई केटा र केटी पक्ष बीच कुटाकुटको घटना समेत भएको थियो । पछि विवाद मिलाएर विवाह सम्पन्न भएको थियो । विहेको दिनदेखि नै सञ्जुले घरमा यातना पाएको माइतीपक्षको आरोप छ ।

हत्या भएको दिन साँझ करिब ६ बजेको समयमा सञ्जुसँग इमोमा कुरा भइरहँदा गाली गरेर फोन काट्न लगाएको आमाले बताइन् । केही बेरमा सञ्जुकी ठूलीे दिदीले इमोमा फोन गर्दा फोन रिसिभ भएको र सञ्जु झुण्डिएकोे अवस्थामा देखिएकी थिइन् ।

लगत्तै आफूहरू सञ्जुको घर पुग्दा उनलाई घरको बरण्डामा सुताएर राखेको थियो । स्थानीय बासिन्दाले समेत दाईजो नदिएका कारण सञ्जुको हत्या भएको हुनसक्ने बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी बरूण सिंहले पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको र घटना बारेमा अनुसन्धान भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *