मधेस प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी, भ्रष्टाचार गर्नेलाई जनकारबाही गर्ने चेतावनी
टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरेका छन् ।
‘किसान आन्दोलन’ अन्तर्गत बुधबार जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गर्दै कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
मन्त्रीहरुलाई जनकारवाही गर्ने भन्दै मन्त्रालयमा पुगेका सो पार्टीका कार्यकर्ताहरु मन्त्री नभेटिएपछि तालाबन्दी गरेर फर्किएका हुन् ।
किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले जानकारी दिए ।
‘मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानबिन हुनुपर्ने, किसानको रकम भुक्तानी हुनुपर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो माग हो’, उनले भने ।
Sponsored
जनमतका कार्यकर्ताहरुले किसान आन्दोलन अन्तर्गत धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।