मधेश प्रदेशसभामा विपक्षी बिनानै दुई विधेयक पारित
टुडेपाटी–
जनकपुरधाम, असार २६ गते ।
मधेश प्रदेशको प्रदेशसभा बैठकमा विपक्षी दलको अनुपस्थितिकाबीच दुईवटा विधेयक पारित गरिएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा( र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरिएको हो ।
जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।
विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो ।
बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य संचालन सम्बन्धी विधेयक पारित गरेको छ ।
Sponsored
यो दुबै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल लोसपाका सांसद उपेन्द्र महतोले भने, ‘प्रतिपक्षीको अनुपस्थितिमा वैठक बस्नु लोकतन्त्रको चिरहरण भएको छ । यस्तो परम्पराले एउटा नजिर बस्छ ।’
आइतबार सुरु भएको बैठकको सुरुमै बोल्दै महतोले प्रतिपक्षी बिना बैठक बसाइएको भन्दै खेद प्रकट गरे ।
आजको बैठकबाट समेत दुईवटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।