TodayPati

भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई सुरक्षाकर्मीले दशगजामा ल्याएर छाडिदिए

टुडेपाटी-

सर्लाही, वैशाख ५ गते ।

सर्लाहीमा भारतका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा छोडिदिएका छन् । भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली नाकास्थित लखन्देही खोलामा उनीहरूलाई छाडिदिएका हुन् ।

Sponsored

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको अनुरोधमा भारतको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूलाई रातको समयमा लखन्देही खोला हुँदै नेपाल जाने बाटो देखाएर छोडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । 

सीमा क्षेत्रमा आइपुगेका ९१ जनालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रयास भइरहेको प्रजिअ जिसीको भनाइ छ । बाँकी व्यक्ति सर्लाहीमा सम्पर्कमा आएका र उनीहरूलाई पनि विभिन्न क्वारेन्टाइनमा राख्ने काम भइरहेको उनले बताए । ‘दशगजामा रोकिएकाहरूलाई तत्कालका लागि भारतीय अधिकारीहरूको जिम्मा लगाउने काम भइरहेको छ,’ उनले भने, ‘उतैबाट आएर दशगजामा बसेकाले भारतीय अधिकारीहरूलाई  बोलाएर लैजान भनेका छौँ ।’

उक्त समूहमा रहेका भनिएका एक सय २३ जनामध्ये हाल कनौली नाकामा ९१ जनालाई रोकेर राखेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए । दशगजा क्षेत्रमा आइपुगेका उनीहरूलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले सीमा क्षेत्रमा रोकेर राखेको बताइएको छ ।

Sponsored

‘उनीहरूलाई सीमा क्षेत्रमा गएरातिदेखि नै रोकेर राखिएको छ,’ उनले भने, ‘दुवैतिर लकडाउन चलिरहेको अवस्थामा यसरी एकै ठाउँमा यत्तिको संख्यामा मानिस कसरी आइपुगे छक्क परेका छौँ ।’

लकडाउन सुरु भएयता मात्र भारतका विभिन्न स्थानबाट ६३ जना नेपाली भारतीय र नेपाली प्रहरीको आँखा छलेर सर्लाही छिरिसकेका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *