तीनदिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए।
उनले भने, ‘तराईका लगभग सबै खोलाहरुमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ। सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ। भोलिसम्मै तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेश सम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ। खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ। मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ। हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको। हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्याइदिइसकेका छौँ। यो तीनदिन भारी वर्षा हुनेछ देशभर।’
भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए।
Sponsored