मेयर बुढाथोकीले भने ‘भ्रष्टाचार गर्दिन, गरे भने झाडु लाउनु’
टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले भ्रष्टाचाररहित ढंगले नागरिकलाई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार सम्पन्न हरिवन नगरपालिकाको छैटौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै बुढाथोकीले पदमा रहँदा आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘यो सभामा म मठ, मन्दिर, गुम्बा, देवालय, मस्जिद सबैको नाममा कसम खाँदै भन्छु– म भ्रष्टचार गर्ने छैन, अरुलाई पनि गर्न दिइने छैन,’ मेयर बुढाथोकीले भने, ‘मैले भ्रष्टाचार गरेँ भनेँ झाडु लगाउनु होला, कठालो समाउनु होला।’
उनले नगरपालिकाले सञ्चालन गर्ने कुनै पनि योजनामा कमिसन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।
आफ्नो सम्पत्ती विवरण वार्षिक रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘म कार्यपालिकाका साथी र राजनीतिक दलका नेताहरुलाई पनि वार्षिक रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गर्दछु।’
Sponsored
उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले विगतको भन्दा फरक र तडकभडकपूर्ण जीवनशैली अपनाए प्रश्न गर्न पनि आम नागरिकलाई आग्रह गरे। ‘हामी जनताका सेवक हौँ, मालिक होइनौँ,’ बुढाथोकीले भने, ‘पदमा रहँदा हाम्रो जीवनशैली बदलिनु हुन्न। त्यस्तो पाउनु भयो भने प्रश्न गर्नु होला।’
मेयर बुढाथोकी हरिवन नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित एकमात्रै जनप्रतिनिधि हुन्। हरिवन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७६ करोड ६८ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ।
मेयर बुढाथोकीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट नगर सभाले सर्वसम्मतीबाट पारित भएको छ।