TodayPati

रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आइपुग्दै, भव्य स्वागतको तयारी


टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।

रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुग्दै छ । सो रेल आज दिउँसो १ः३० मिनेटमा जनकपुरधामा आइपुग्ने मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले जानकारी दिए ।


गत मंगलबार साँझ ७ बजे भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर सो रेलको उद्घाटन गरेपछि जनकपुरधामको लागि प्रस्थान गरेको थियो ।

Sponsored


रामायण सर्किटको धार्मिक सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यसहित झण्डै ६ सय तीर्थ यात्री बोकेर सो रेल आज जनकपुरधाम आउन लागेको हो । रेल चढेर आउने तीर्थालु यात्रीलाई भव्य स्वागत गर्ने विभिन्न निकायले तयारी गरेको छ ।


मधेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानरपालिका र जानकी मन्दिरले तीर्थ यात्रीको स्वागतको तयारी गरेका छन् ।

जनकपुर आइपुग्ने तीर्थ यात्रीलाई रेल्वे स्टेशनमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री सत्रुधन महतोसहितका मन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र जनकी मन्दिरका सह महन्त रामरोशन दास लगायतले रेल चढेर आउने तीर्थ यात्रीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Sponsored


रेल्वे स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गर्ने तयारी पर्यटन तथा वन मन्त्रालयले गरेको मन्त्री सत्रुधन महतोले जानकारी दिए । उनका अनुसार पेयपदार्थ चिसो, पानीले यात्रीहरुको स्वागत गरिने छ ।

रेल्वे स्टेशनबाट यात्रीहरु जनकपुरधामको विभिन्न होटेलमा जाने छन् । उनीहरुको लागि जनकपुरधामको विभिन्न होटेल भारतीय राजदुतावासले बुक गरेको छ । केहि बेरा आराम पश्चात ६ बजे महागंगा आरतीमा तीर्थयात्रीहरु सरिक हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले बताए ।


त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन् । जानकी मन्दिरको प्रांगणमा उनीहरुको लागि साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ । केही घण्टाको सांस्कृतिक कार्यक्रम अब्लोकन पश्चात उनीहरु आफू बसेको होटेलमा तीर्थ यात्री फर्किने छन् ।


शुक्रबार बिहान जनकपुरको राममन्दिर, जनक मन्दिर लगायतमा दर्शन तथा भ्रमण गर्दै बसमा चढेर धनुषाधाम मन्दिर पुग्ने मन्त्री महतोले बताए । ‘त्यहाँबाट फर्केपछि तीर्थयात्रीहरु बस चढेर भिठामोड हुँदै सीतामढी पुग्नेछन् ।

तीर्थ यात्रीको स्वागतको लागि जनकपुरधाम उपमहानगरपालिकाले दुईवटा स्वागत तथा प्रवेशद्वार निर्मामाण गरेको मेयर मनोज साहले बताए ।

मन्त्री महतोका अनुसार जनकपुरधाम आइपुग्ने सो रेल यात्रीलाई ओरालेर फेरि जयनगर नै फर्केर सीतामढी पुग्ने छ । जनकपुरबाट बस चढेर सीतामढी पुग्ने तीर्थ यात्रीलाई लिएर त्यहाँबाट रामायण सर्किट हुँदै दिल्ली फर्किने जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *