TodayPati

जनकपुरमा प्रेमीद्वारा युवतीलाई करेन्ट लगाएर हत्या प्रयास प्रकरण: आमाले प्रहरीमा दिइन् जाहेरी

टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।

जनकपुरमा २२ वर्षीया राधिका कार्कीलाई करेन्ट लगाएर भएको हत्या प्रयास घटनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नं. २ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा आइतबार जाहेरी दिएकी हुन् ।

राधिकाकी आमाले शंकास्पद पीडकको नाम राखेर जाहेरी दिएको धनुषाका नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले बताए ।
‘राधिकाकी आमाले जाहेरी दिनुभएको छ । हामी गम्भीरतापूर्वक दोषी पत्ता लगाउन अनुसन्धान गर्दैछौं । दोषी पत्ता लागेपछि जाहेरी दर्ता हुन्छ’ डिएसपी क्षेत्रीले भने ।

Sponsored

गत जेठ १६ गते साँझ प्रेमी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको चारै हातखुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेका थिए ।
प्रेम विवाह गरेर आठ महिनादेखि जनकपरको थापाचोकमा दुबैजना बस्दै आएका थिए । सो दिन राधिकाले वाचा गरे अनुसार घर लग्न भनेपछि विवाद भएको थियो । त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताइन् ।

करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई धनुषा प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डको बेड नं. १४० मा भर्ना भएकी राधिकाको १० दिनपछि होस आएको थियो । उनको वेवारिसे अवस्थामा उपचार भइरहेको थियो ।

कुरुवा आफन्त नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटी गार्ड राधिकाको उपचार तथा हेरबिचार गर्दै आएका छन् । उपचारमा संलग्न चिकित्सक डा.अश्विनी यादवका अनुसार करेन्ट लागेको कारण राधिकाको हात खुट्टाको केही औंला काम नलाग्ने अवस्थामा छ । जुन काटेरै हटाउनु पर्ने उनले बताए ।

Sponsored

टुडेपाटी लगायतका संचार माध्यमले समाचार प्रकाशन गरेपछि घटना सार्वजनिक भएको थियो । ‘सुरुमा हामीले नै उनलाई उद्धार गरेर उपचारको लागि अस्पताल भर्ना गर्यौं । ‘राधिका होस्मा आएर बोल्न थालेपछि धेरै कुरा थाहा भयो । घटनालाई गम्भीर रुपमा लिएका छौं । चाँडै दोषी पत्ता लगाएर कारबाही गर्छौं’ डिएसपी क्षेत्रीले भने ।

सम्बन्धित समाचार

जनकपुर: प्रेम विवाह गरी युवतीको चारै हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास, १०दिनपछि आयो होस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *