सिरियामा द्वन्द्वका कारण ५ लाख २० हजार विस्थापित
एजेन्सी-
सिरियामा जारी द्वन्द्वका कारण झन्डै पाँच लाख २० हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघ मानवतावादी समन्वय कार्यालयले जनाएको छ। यससँगै टर्की–सिरियाबीच तनाव पनि बढ्दो छ।
केही महिना अघिदेखि चलेको हमलासँगै सिरियाको इडलिबका वासिन्दा उत्तरमा टर्कीको सीमा क्षेत्रमसम्म विस्थापित भएका छन्।
सन् २०११ मा सिरियामा द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो विस्थापन हो। यसमाथि अझ चिसो मौसमले विस्थापित हुनेहरूलाई थप समस्या दिएको छ। सिरियाली द्वन्द्वका कारण हालसम्म विस्थापित हुनेको सङ्ख्या झन्डै १ करोड पुगिसकेको छ।
जिहादीको वर्चस्व रहेको क्षेत्रमा सिरियाली सरकार र रुसी तथा अन्य देशका सेनाले गरेको हमला जारी रहेका कारण यो सङ्ख्या अझ बढ्न सक्छ।
यस हमलामा इडलिबमा रहेका टर्कीका कम्तीमा पाँच सेना र तीन नागरिकको मृत्यु भएको टर्कीले जनाएको छ। यता सिरियाले भने टर्कीको हमलाका कारण १३ जना सिरियाली सेनाको मृत्यु भएको बताउँदै आएको छ।
Sponsored