सर्लाहीमा भान्जाले गरे मामाको हत्या
टुडपाटी-
सर्लाही, जेठ २८ गते ।
सर्लाहीमा आफ्नै भान्जाले मामाको हत्या गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुर बस्ने ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकको हत्या गरेका हुन् ।
बारीमा तरकारी लगाउन माच (मचान) बनाउनेक्रममा विवाद भएपछि रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेका थिए ।
उनको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रवीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
Sponsored
रवी प्रायः काठमाण्डौं बस्ने गरेका थिए । नागरिकता बनाउन भन्दै केही दिनअघि मात्र गाउँ आएका रवी मामासँगै मिलेर नातेदार काकाको बारीमा तरकारी खेतीका लागि माच बनाउन खटिएका थिए ।
मामा र भान्जाबीच भएको विवादको कारण खुल्न सकेको छैन् ।
रवीलाई लालबन्दी प्रहरीको हिरासतमा राखेर घटना विषयथमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।