चोरबाटोबाट नेपाल पस्न खोज्ने ६ जनालाई सशस्त्र प्रहरीले समात्यो, भारतीय प्रहरीले छोड्यो
टुडेपाटी-
सिरहा, वैशाख ४ गते ।
भारतबाट नेपालतर्फ आउने ६ जना नेपालीलाई भारतीय प्रहरीले क्वारेन्टाइनमा नराखेर छोड दिएको पाइएको छ । एकअर्काका देशका नागरिकलाई आ–आफ्नै देशको क्वारेन्टाइनमा राख्ने नेपाल–भारतबीच सहमति भएपनि पालना नभएको पाइएको हो ।
गत वैशाख २ गते सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै ६ जना नेपाली राति १ बजे नेपाल प्रवेश गर्न खोजेका थिए । तर नाकामा सशस्त्र प्रहरीले देखेपछि लखेट्दै उनीहरुलाई भारतीय सिमामा पुगेर नियन्त्रणमा लिइ भारतीय एसएसबीलाई जिम्मा लगाइदिएका थिए । एसएसबीले भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई बुझाइदियो । तर लदनियाँ थानाले भारतको क्वारेन्टाइनमा नराखेर त्यही राति नै उनीलाई नेपालमा ल्याएर छाडिदिएको बताइएको छ।
उनीहरुलाई छाड्ने बित्तिकै पुनः नेपालका प्रहरीले पक्राउ गरेर औरही गाउँपालिकाको क्वारेन्टाइनमा लगेर बुझायो ।
दुबै देशबीच आफ्नो भूमीमा रहेका नागकिलाई क्वारेन्टाइनमा राखेर खाना, स्वास्थ्य उपचारलगायतको व्यवस्था त्यही देशका सरकारले गर्नुपर्ने सहमती अनुसार आफूहरु भारत भूमिमा समातेर त्यहीँका एसएसबीलाई बुझाए पनि पुनः नेपालमा ल्याएर छाडिदिएको इटाटार सशस्त्र क्याम्पका प्रहरी निरिक्षक देवेन्द्र रोक्काले बताए ।
‘हामीले अहिले सीमा नाकामा २४ घण्टा ड्युटी गरिरहेका छौं, प्रत्येक २०० मिटरमा एउटा टहरा बनाएर ड्युटी गरिरहेका हुन्छौं तैपनि उता (भारत) बाट नेपाल तथा भारतका व्यक्तिहरु छिर्ने प्रयास गरिरहेका हुन्छन् ।’ यो एक प्रतिनिधिमुलक घटना भएपनि आ–आफ्नै क्वारेन्टाइनमा राख्ने नेपाल–भारतबीच सहमति कार्यान्वयनमा भारतीय पक्ष इमान्दार नभएको पाइएको हो ।
यता नेपाल–भारत सीमा नाकामा नेपालतर्फ भारतीयहरुको भिडभाड बढ्दै गइरहेको छ । काठमाडौं, पोखरा, चितवनलगायतका ठाउँमा काम गर्ने भारतीय मजदुरहरु रातिराति हिँडेर सीमा नाकासम्म पुगेका छन् ।
Sponsored