जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुल्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ २३ गते ।
जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत भएको छ ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहन रुपन्देहीको रोहिणी खोला पुलबाट खोलामा खस्दा दुर्घटना भएको थियो ।
बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । २३ जना घाइते भएका थिए । जस मध्ये १५ जनाको अवस्था अझै गम्भीर छ । उनीहरु सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु सबैको सनाखत भएको छ ।
रुपन्देही प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका ८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा २ योगीकुटीका ५६ वर्षका विष्णु पौडेल छन् ।
Sponsored
यस्तै रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास, महोत्तरी पिप्रा गाउँपालिका ५ का ३० वर्षका चन्दन यादव ,बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता रहेका छन् ।
घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।