सोहनीमा जनकपुरधामका मेयर साह र लक्ष्मीनिया गापा अध्यक्ष मिश्रलाई स्वागत
टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका नवनिर्वाचित पालिका प्रमुखलाई सोहनीमा स्वागत गरिएको छ ।
जनकपुरधामका मेयर मनोज कुमार साह र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रलाई जनकपुरधाम १४ का सोहनीमा स्थानीयले शनिबार एकध समारोहबीच स्वागत गरेका हुन् ।
निर्वाचित पश्चात पहिलो पटक सोहनी पुगेपछि दुबै पालिका प्रमुखलाई नेपाली काँग्रेस लगायत स्थानीयबासिन्दाले फूलमाला, अविर, दोसल्ला ओढाएर स्वागतसंगै बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । साह स्वतन्त्रबाट जनकपुरधामको मेयरमा निर्वाचित छन् भने मिश्र काँग्रेसबाट लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा निर्वाचित छन् ।
काँग्रेसबाट वडा नं. १४ मा निर्वाचित वडा सदस्य जीवछ दासको अध्यक्षता तथा जनकपुरका मेयर साहको प्रमुख आतिथ्य एवं लक्ष्मीनिया गाँपा अध्यक्ष मिश्रको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
बधाई तथा शुभकामना ग्रहण पश्चात जनकपुरका मेयर मनोज साहले वडा नं. १४ मा मुजेलियादेखि सोहनी जोड्ने बीचको सडक तत्कालै स्तारोन्नति गर्ने बताए । दुई चरणमा सो सडकलाई पक्की बनाउने उनले आश्वासन दिए ।
Sponsored
अर्को प्रसंगमा मेयर साहले सोहनीका जनतालाई आवश्यक्ताको आधारमा योजना निर्माण गरी जीवन स्तर माथि उकास्ने प्रतिवद्धता जनाए ।
लक्ष्मीनियाँ गाउँपलिका अध्यक्ष मिश्रले सोहनीका जनताकै इच्छानुसार विकासको काम अगाडी बढाउने बताए ।
वडा सदस्य जिवछ दासले चुनावको बेला जनतासंग जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई लगायको सिफारिस शुल्क निःशुल्क गर्ने प्रतिवद्धता गरेकाले सो सिफारिस दस्तुरहरु निःशुल्क गरिदिन मेयर साहसंग आग्रह गरे ।
सो अवसरमा वडा नं. १४ का काँग्रेसबाट वडअध्यक्षका प्रत्यासी ब्रह्मदेव मिश्र, काँग्रेसका स्थानीय नेता श्रीराम साह, शिवशंकर यादव लगायतको उपस्थिति थियो ।